भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेडाउने भएका छन्। लोपोन्मुख अवस्थामा पुगेको ऐतिहासिक जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन उनी फेरि यो परम्परामा सहभागी हुन लागेका हुन्।
श्रेष्ठले असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडाउने जानकारी दिएका छन्। विगतमा आर्थिक तथा अन्य कारणले नियमित हुन नसकेको यो जात्रा पछिल्लो समय श्रेष्ठकै अगुवाइमा पुनः सञ्चालनमा आएको हो।
२०७४ सालमा श्रेष्ठकै अगुवाइमा जात्रा पुनः सुरु भएको थियो। त्यसयता उनले २०७९, २०८१ र २०८२ सालमा जिब्रो छेडाइसकेका छन्। यस वर्षको सहभागीसँगै उनले पाँचौँपटक जिब्रो छेडाउनेछन्।
यसअघि २०७५ सालमा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएका थिए। कोरोना महामारीका कारण जात्रा प्रभावित भएपछि २०७९ सालमा वीरेन्द्रभक्तले पुनः परम्परालाई निरन्तरता दिएका थिए।
मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले पनि यसअघि २०५२, २०५७ र २०६३ सालमा जिब्रो छेडाएका थिए।
६ लाखभन्दा बढी खर्च, स्थानीयकै भरमा जात्रा
आर्थिक अभावका कारण कहिले सञ्चालन हुने र कहिले रोकिँदै आएको यो जात्रा सञ्चालन गर्न करिब ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको बताइएको छ। नगरपालिकाबाट प्राप्त सहयोगभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति तथा स्थानीयवासीले नै जुटाउँदै आएका छन्।
मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौँ मानिसको उपस्थितिमा जिब्रो छेडेपछि जात्रा सुरु हुन्छ। जिब्रो छेडाउने व्यक्तिको इच्छाअनुसार जात्रालाई पशुपतिनाथ मन्दिरसम्म लैजाने प्रचलनसमेत रहेको छ।