काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री साहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल महासभामा सहभागी हुने बताए ।
उनका अनुसार संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।
‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ,’ उनले भने ।
समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग पनि छलफल भएको थियो । विज्ञहरूले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा धारणा राखेका थिए ।
महासभामा नेपालको सहभागिताका क्रममा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा समेत छलफल भएको छ । मन्त्री खनालले महासभालाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताए ।