बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

बुधबार, भाद्र ३१ २०८३

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान पनि गम्भीर घाइते भएका छन्। उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ।

दुवै घाइतेको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।