बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मनसुन सक्रिय : देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

बिहान कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।