काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा सहयोग गरेको छ ।
बैंकले कास्कीमा सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी कास्की तथा नेपाल भारत मैत्री पुस्तकालयलाई विभिन्न सामग्री र पूर्वाधार विस्तारका लागि सहयोग उपलब्ध गराएको हो ।
बैंकका अनुसार फेवा तालमा उद्धार कार्यका क्रममा प्रयोग हुने उपकरण सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई आवश्यक संरचना निर्माणका लागि सहयोग गरिएको छ । त्यस्तै, रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी कास्कीलाई आवश्यक उपकरण प्रदान गरिएको बैंकले जनाएको छ ।
यसैगरी, नेपाल भारत मैत्री पुस्तकालय कास्कीको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक र पत्रपत्रिका खरिदका लागि पनि बैंकले सहयोग गरेको छ ।
पोखरामा आयोजित कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले सहयोग हस्तान्तरण गर्नुभएको थियो । उहाँहरूले क्रमशः सशस्त्र प्रहरी बल, नेपालका डीआईजी प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष किरणलाल श्रेष्ठलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेतीलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।
बैंकले सीएसआरमार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्दै सार्वजनिक सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकका अनुसार हाल १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाई, १२७ एटीएम तथा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।