काठमाडौँ । नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले पुष्पलालको योगदानको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गरेका छन्।
वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोरा थिए। उनी सहिद गंगालाल श्रेष्ठका भाइसमेत हुन्। नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठित र वैचारिक रूपमा स्थापित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरे। साथै विभिन्न लेख, रचना तथा वैचारिक कृतिमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माण गर्न योगदान दिएकाे मानिन्छ ।
वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। त्यसअघि वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए।
पुष्पलालले नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग सहकार्य गरेर संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्थालाई पराजित गर्नुपर्ने राजनीतिक धारणा अघि सार्नुभएको थियो। उनको वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।
स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) को राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ। अन्य कम्युनिस्ट दल तथा संगठनहरूले पनि देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी र स्मरण कार्यक्रम सञ्चालन गरिरहेका छन्।