काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, डुबान, कटान, चट्याङ र सर्पदंशजस्ता विपद्का जोखिम उच्च रहेकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनामा जनधनको सुरक्षा सुनिश्चित गर्न यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा वर्षायाममा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। ठूलो वर्षा भएका बेला सकेसम्म रातिको यात्रा नगर्न, बाढी आएको अवस्थामा खोला, खोल्सा वा नदी तर्न प्रयास नगर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी वर्षा भइरहेका बेला काठ–दाउरा संकलन गर्न, माछा मार्न वा पौडी खेल्न नदी तथा खोलातर्फ नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न सचेत गराइएको छ।
प्राधिकरणले जोखिमयुक्त पुल तथा नदी किनारामा उभिएर फोटो वा भिडियो नखिच्न, पैदलयात्रा तथा हाइकिङ गर्दा सकेसम्म एक्लै नजान र विपद्को संकेत देखिए तत्काल सुरक्षित स्थानमा सर्न तथा स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ।
सर्पदंशको जोखिमलाई ध्यानमा राख्दै घरवरिपरि सफा राख्न, ढल तथा नाली नियमित सफा गर्न र रातिको समयमा बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्न सुझाव दिइएको छ। चट्याङ पर्ने सम्भावना देखिए तुरुन्त सुरक्षित स्थानमा जान तथा महत्वपूर्ण कागजात, आवश्यक औषधि र नबिग्रने खाद्य सामग्री सुरक्षित रूपमा तयारी अवस्थामा राख्न पनि भनिएको छ।
मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज राख्न, अफवाहको पछि नलाग्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचनामात्र विश्वास गर्न प्राधिकरणले आग्रह गरेको छ। विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ। ती घटनाबाट करिब १३ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। विपद्का कारण तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंश र आगलागीका आठ–आठ वटा घटना, पहिरोका १४, अविरल वर्षाका आठ, बाढीका दुई, जनावर आक्रमणका तीन तथा हावाहुरीको एक घटना दर्ता भएका छन्।
यस वर्षको मनसुन असार ५ गतेदेखि सुरु भएको हो। मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता अपनाउन प्राधिकरणले पुनः सबैलाई आग्रह गरेको छ।