हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी एमालेका सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै एमालेका मन्त्रीहरूले बुधबारदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीलाई बुझाइएको संयुक्त राजीनामा पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदै आएको छ। एमाले सरकारबाट बाहिरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ।
एमालेको बहिर्गमनपछि मुख्यमन्त्रीले संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ। यससँगै नयाँ राजनीतिक समीकरण बन्ने सम्भावनासमेत बढेको छ, जसले बागमती प्रदेशको राजनीति थप चासोको विषय बनेको छ।
