काठमाडौँ । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण बन्द भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले अवरुद्ध भएको छ। यस्तै, पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक तथा गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक समेत पहिरोका कारण बन्द रहेका छन्।
यसैबीच, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित क्षेत्र हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।