काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि दुई दलबीचको राजनीतिक सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
स्रोतका अनुसार ललितपुरमा भएको करिब तीन घण्टाभन्दा लामो भेटमा वामपन्थी शक्तिहरूबीचको सहकार्य, चुनावी गठबन्धन तथा सम्भावित पार्टी एकतासम्मका विषयमा विस्तृत छलफल भएको थियो। एमाले अध्यक्ष ओली गुण्डुस्थित एक कार्यक्रममा सहभागी भएर फर्किएपछि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ।
भेटका क्रममा प्रदेश सरकारहरूमा सहकार्य गर्ने, स्थानीय तह र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने तथा वाम शक्तिहरूबीच दीर्घकालीन राजनीतिक सहकार्यको आधार निर्माण गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतको दाबी छ।
एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत प्रदेश सरकार गठनदेखि राष्ट्रिय राजनीतिक सहकार्यासम्मका विषयमा दुई दलबीच सकारात्मक समझदारी बनेको जानकारी दिएका छन्।
उनले सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको एकतालाई सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्
बस्नेतले वाम शक्तिहरूबीचको सहकार्यले देशमा स्थायित्व, सुशासन र समृद्धिको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।
यसअघि जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका संयोजक दाहालले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका थिए। उनले विभिन्न राजनीतिक विषयमा संवाद निरन्तर जारी रहेको र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।