काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चोभार क्षेत्रमा मंगलबार गुडिरहेको एक निजी कारमा अचानक आगलागी भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार बा५च ३०३८ नम्बरको निजी कारमा बिहान साढे ११ बजेपछि आगलागी भएको हो।
प्रत्यक्षदर्शीहरूले कारबाट धुवाँ र आगो निस्किएको देखेपछि तत्काल प्रहरी तथा ट्राफिक प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको ट्राफिक प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार आगलागीका बेला कारभित्र चालकसहित केही यात्रु रहेको आशंका गरिएको छ। यद्यपि मानवीय क्षति, घाइतेको अवस्था तथा आगलागीको कारणबारे आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने विस्तृत विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने जनाइएको छ।