आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तसहित तीन जनाबारे छलफल हुने

मंगलबार, साउन ५ २०८३

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूसम्बन्धी प्राप्त उजुरीमाथि छलफल हुने कार्यसूची रहेको छ। साथै प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने तयारी पनि गरिएको छ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यस्तै निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

संसदीय सुनुवाइ समितिले उम्मेदवारहरूको सुनुवाइ गरी नाम अनुमोदन गरेपछि मात्रै उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ। नेपालको संविधानअनुसार समितिबाट अनुमोदन भएका व्यक्तिलाई राष्ट्रपतिले सम्बन्धित संवैधानिक पदमा नियुक्त गर्ने व्यवस्था छ।

आजको बैठकलाई निर्वाचन आयोगको नेतृत्व चयन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।