काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। यसको प्रभावका कारण देशभर अधिकांश स्थानमा बदली रही वर्षाको गतिविधि जारी रहने अनुमान गरिएको छ।
महाशाखाले देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने जनाएको छ। त्यसैगरी पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले भारी वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरो जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।