बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उच्च अदालत पाटनद्वारा गत वर्ष ११ हजारभन्दा बढी मुद्दा फछ्र्योट

सोमबार, साउन ४ २०८३

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको जनाएको छ। अदालतमा कुल १६ हजार १३९ मुद्दा दर्ता तथा विचाराधीन रहेकामा उल्लेख्य सङ्ख्यामा मुद्दा टुंग्याउन सफल भएको हो।

अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरका अनुसार न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार दुई वर्ष नाघेका तथा १८ महिना नाघेका सबै मुद्दा शून्यमा झारिएको छ। हाल एक वर्ष नाघेका ३५३ मुद्दा मात्र बाँकी रहेका छन्।

मुख्य न्यायाधीश कुँवरले विकास निर्माण तथा राजस्व असुलीसँग सम्बन्धित मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाइ गरिएको बताउनुभयो। उहाँका अनुसार पुराना मुद्दा घटाउने अभियानले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ।

उच्च अदालत पाटनले चालु आर्थिक वर्षको सुरुआती अवधिमै ७४० मुद्दा फछ्र्योट गरिसकेको जनाएको छ। अदालतमा एक वर्ष नाघेका १२ वटा थुनुवा मुद्दा भने अझै विचाराधीन अवस्थामा रहेका छन्।

अदालत मातहतका जिल्ला अदालतहरूमध्ये सिन्धुपाल्चोक जिल्ला अदालतले सबैभन्दा बढी ७७.४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ। त्यसपछि रसुवा जिल्ला अदालतले ७५.६ प्रतिशत मुद्दा टुंग्याएको छ। जिल्ला अदालत काठमाडौँको फछ्र्योट दर भने ४२.३ प्रतिशत रहेको छ, जुन मातहतका अदालतमध्ये सबैभन्दा कम हो।

अदालतले पुराना मुद्दा घटाउने र न्यायिक सेवा छिटोछरितो बनाउने लक्ष्यअनुसार आगामी दिनमा पनि मुद्दा फछ्र्योटलाई प्राथमिकतामा राख्ने जनाएको छ।