आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पुँजीबजार र बिमा क्षेत्रबारे प्रधानमन्त्री शाहले आज विशेष छलफल गर्दै

सोमबार, साउन ४ २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको छ।

त्यसैगरी, पुँजीबजारसँग सम्बन्धित विज्ञ तथा सरोकारवाला व्यक्तित्व प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी हुने जनाइएको छ।

बैठकमा पुँजीबजारको वर्तमान अवस्था, लगानीकर्ताको विश्वास अभिवृद्धि, धितोपत्र तथा बिमा क्षेत्रको सुदृढीकरण, नीतिगत तथा संरचनात्मक सुधारका सम्भावित उपायहरू लगायत समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शाहले आर्थिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा वित्तीय क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रका सरोकारवालासँग नियमित संवाद गर्दै आएका छन्। आजको बैठकलाई पुँजीबजार र बिमा क्षेत्रका चुनौती तथा सम्भावनाबारे सरकारको धारणा स्पष्ट पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।