चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि धादिङतर्फको सडक अवरुद्ध रहेकाले लामो दूरीका सवारीसाधनको आवागमन अझै सुचारु हुन सकेको छैन।
इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो। सडक विभाग र सुरक्षाकर्मीको प्रयासपछि पहिरो हटाएर बिहान ९ः३० बजेदेखि उक्त सडकखण्ड खुलाइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेर सडक अवरुद्ध भएका कारण चितवनतर्फको सडक खुले पनि सवारी सञ्चालन हुन सकेको छैन।
हाल चितवनतर्फबाट आएका सवारीसाधनलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकेर राखिएको छ। यद्यपि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ जाने र आउने सवारीसाधन भने बिहानैदेखि सञ्चालनमा रहेका छन्।
लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको थियो। त्यसयता रोकिएका सयौँ सवारीसाधन अझै सञ्चालनमा आउन नसक्दा विभिन्न स्थानमा लामो जाम लागेको छ।
प्रशासनले मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सतर्क रहन यात्रु र चालकलाई आग्रह गरेको छ।