बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

सोमबार, साउन ४ २०८३

काठमाडौँ । हिन्दू धर्मावलम्बीका लागि विशेष महत्व राख्ने साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ। साउने झरीका बीच पनि श्रद्धालु भक्तजनहरू बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित व्यवस्थापनका लागि विशेष तयारी गरिएको कोषले जनाएको छ। दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाको सक्रिय सहभागिता रहेको छ।

कोषले लाखौँ भक्तजनलाई सहज र मर्यादित वातावरणमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाइएको जनाएको छ। बिहान ३ बजेदेखि खुलेका मन्दिरका ढोका बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ।

दर्शनार्थीको व्यवस्थापनका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि लाम अत्यधिक लामो नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित आवश्यक सबै सेवा सुविधा उपलब्ध गराइएको छ।

पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका विभिन्न शिव मन्दिरमा पनि श्रद्धालुको भीड लागेको छ। त्यस्तै, देशभरका प्रमुख शिवालयमा भक्तजन पूजा, आराधना र दर्शनका लागि पुगेका छन्। साउन महिनाभर विशेषगरी सोमबारका दिन भगवान् शिवको पूजा–आराधना गर्ने धार्मिक परम्परा रहँदै आएको छ।