काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। देशभर अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै क्षेत्रमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।