काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई दक्षिणपन्थी शक्तिसँगको ‘अपवित्र साँठगाँठ’बाट टाढा रहन आग्रह गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै खनालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनपछि राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने अधिकार तथा छिमेकी मुलुकसँगको सम्बन्धलगायत विषय थप जटिल बन्दै गएको दाबी गरेका छन्।
उनले मुलुकमा विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्था बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरूबीच व्यापक एकताको आवश्यकता रहेको बताएका छन्।
खनालले श्रमजीवी वर्गको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै जनताले वामपन्थी शक्तिहरूबीच साझा पहल र एकताबद्ध प्रयासको अपेक्षा गरेको बताएका छन्। उनका अनुसार वामपन्थी शक्तिहरूले आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वैचारिक तथा राजनीतिक आधारमा एकता निर्माण गर्नुपर्छ।
विज्ञप्तिमा उनले विगतमा वामपन्थी दलहरूले नीतिहीन, वर्गीय दृष्टिकोणविहीन तथा गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्ने गल्ती गरेको उल्लेख गरेका छन्। अहिले पनि त्यही प्रवृत्ति दोहोरिने खतरा देखिएको भन्दै उनले यसले कम्युनिस्ट आन्दोलनको प्रतिष्ठामा थप क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।
प्रदेश सरकारमा नेपाली कांग्रेससँग सहकार्यको चर्चा चलिरहेका बेला खनालले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले प्रदेश सरकार गठनसम्बन्धी निर्णय क्रान्तिकारी उद्देश्य, वर्गीय दृष्टिकोण र पार्टीको नीतिगत आधारमा मात्रै हुनुपर्नेमा जोड दिँदै पार्टीलाई दक्षिणपन्थी वर्ग–सम्झौतावादतर्फ जानबाट जोगाउन संस्थागत निर्णय आवश्यक रहेको बताएका छन्।
खनालले केही नेताहरूको कुर्सी मोह र व्यक्तिगत आत्मतृप्तिका लागि हुने राजनीतिक साँठगाँठलाई रोक्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले अहिलेको समय सत्ता समीकरणभन्दा पनि सही कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन, रूपान्तरण र वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने समय भएको बताएका छन्।
