बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

आइतबार, साउन ३ २०८३

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागबाट बग्ने साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना छ।

वर्षाका कारण ती क्षेत्रका खोलानाला तथा साना नदीहरूमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

यद्यपि विभागका अनुसार देशका प्रमुख नदी प्रणालीअन्तर्गत कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको जलस्तर हाल जोखिम रेखाभन्दा तल रहेको छ।

विभागले मौसमको अद्यावधिक जानकारी तथा बाढी पूर्वानुमान नियमित रूपमा हेर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।