काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता र सुशासनका क्षेत्रमा उहाँले पुर्याएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहने बताएका छन्।
शुक्रबार जारी शोक वक्तव्यमा दाहालले नेपालमा शान्ति प्रक्रिया सफल बनाउन, लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न तथा नागरिक अधिकार र सुशासनको पक्षमा डा. पाण्डेले खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरेका छन्।
उनले डा. पाण्डेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा उहाँप्रति सम्मान र स्नेह राख्ने सबैमा हार्दिक समवेदना प्रकट गरेका छन्।
नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो। अस्वस्थ भएपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। अस्पतालबाट निवास फर्काइएलगत्तै शुक्रबार साँझ उनको निधन भएको परिवारले जनाएको छ।