काठमाडौं । आन्दोलनरत मिटरब्याज (अनुचित लेनदेन) पीडित पक्ष र सरकारबीच आज औपचारिक सम्झौता हुने तयारी गरिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षका प्रतिनिधिबीच छलफल जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत बुधबार सिमरामा दुवै पक्षबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी गरिएको हो।
सम्झौताअघि बुधबार प्रधानमन्त्री कार्यालयमै सरकारी टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। सोही छलफलमा भएका सहमतिका आधारमा आज लिखित सम्झौताको मस्यौदामाथि अन्तिम छलफल भइरहेको जनाइएको छ।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिरहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्यका रूपमा सहभागी छन्।
सरकार र पीडित पक्षबीच हुने लिखित सम्झौतापछि लामो समयदेखि जारी आन्दोलन समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।