काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठानका साथ मनाइँदै छ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ।
वैदिक सनातन परम्पराअनुसार आजदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ मनाइन्छ।
नेपाल कृषि प्रधान देश भएकाले असारभर खेतबारीमा व्यस्त रहने किसानले हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ परम्परा निभाउने चलन छ। संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो परम्परा स्वास्थ्य र लोकविश्वाससँग जोडिएको छ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी ‘कण्डारक’ नामक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो फाल्ने, नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने चलन विभिन्न समुदायमा आज पनि कायम छ।
साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिन्छ। यस अवसरमा महिलाले हरियो चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाउने परम्परा पनि छ, जसले हरियाली र प्रकृतिसँगको निकटतालाई प्रतीकात्मक रूपमा झल्काउँछ।
साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुले स्नान, पूजा–आराधना र दान गरी पर्व मनाइरहेका छन्।