काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले बिहीबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गर्दै बाढी, पहिरो र गेग्रान बहावको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि र पूर्व क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले देशभर वर्षाको प्रभाव कायम रहनेछ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग, देशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशभर बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।