बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी 

बिहिबार, असार ३२ २०८३

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही उत्तरतर्फ तराई क्षेत्र नजिक तथा पूर्वी नेपालमा औसत स्थानकै आसपास रहेकाले देशभर मौसम प्रभावित भएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलामा पानीको सतह बढ्ने, पहिरो जाने र डुबान हुने जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।