चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण र निरन्तर निगरानीका लागि कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइटयुक्त रेडियो कलर जडान गरी पुनः जंगलमा छाडेको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो। त्यसपछि घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरी दाह्रा काटेर सुरक्षित रूपमा जंगलमा छाडिएको हो।
उनका अनुसार रेडियो कलर जडानसँगै ‘ध्रुवे’को अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त गर्न सकिनेछ। जिपिएस ट्र्याकिङ प्रणालीमार्फत यसको आवतजावत र गतिविधिको निरन्तर निगरानी गर्न सहज हुने विश्वास गरिएको छ।
रेडियो कलर जडान गर्ने कार्यमा निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको नयाँ गोरख गण, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोली सहभागी भएको थियो।
‘ध्रुवे’ हात्तीले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको जनाइएको छ। पछिल्लो पटक असार २० गते भरतपुर–२३ मा यसको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानीलाई तीव्र बनाएको थियो।
निकुञ्जका अनुसार प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन केही समय लागेको थियो।
निकुञ्जले स्थानीय बासिन्दालाई जङ्गली हात्ती देखिएमा सतर्क रहन, निकुञ्जबाट जारी गरिएका सूचनाको पालना गर्न तथा हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।