आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने, सतर्कता अपनाउन आग्रह

बुधबार, असार ३१ २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान गरेको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि पुनः बढ्ने सम्भावना रहेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने संकेत देखिएको छ।

मौसमविद् अधिकारीका अनुसार हिमाली तथा तराई क्षेत्रमा अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा बझाङमा ५४.८ मिलिमिटर मापन गरिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक आसपास तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ।

आज हिमाली क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।