आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

देशभर २१ सडक प्रभावित, अवरुद्ध सडक खुलाउने प्रयास जारी

मंगलबार, असार ३० २०८३

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका २१ वटा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागले प्रभावित सडक खुलाउन सम्बन्धित कार्यालयमार्फत पहिरो पन्छाउने कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।

सडक विभागका अनुसार आज मध्याह्नसम्म तीन वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने १८ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन्।

विभागका अनुसार पहिरोका कारण कोशी राजमार्ग, कान्तिराजपथ, मेची राजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित कार्यालयले डोजर तथा आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने काम गरिरहेका छन्।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले बाढी, पहिरो तथा सडक अवरोधको जोखिम कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।