काठमाडौं । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम र राजनीतिक नेतृत्वलाई लक्षित गर्दै मानसिक त्रास फैलाउने गतिविधिमा संलग्न व्यक्तिमाथि सरकारले तत्काल कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले विभिन्न सञ्चारमाध्यमका कार्यालय र राजनीतिक नेतृत्वका निवासअगाडि सवारीसाधन राखेर त्रास सिर्जना गर्ने गतिविधि गम्भीर भएको बताए। उनले यस्तो कार्यलाई पञ्चायतकालीन मण्डले तन्त्रले सिर्जना गरेको राज्य आतंकको झझल्को दिलाउने सांकेतिक गतिविधिका रूपमा टिप्पणी गर्दै यस्ता घटना लोकतान्त्रिक व्यवस्थाका लागि हितकर नभएको बताए ।
उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरे ।
सांसद ठगुन्नाले सरकार नागरिकको स्वास्थ्य उपचारप्रति पनि पर्याप्त जिम्मेवार नरहेको आरोप लगाउनुभयो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमासम्बन्धी दिएको अभिव्यक्तिको उल्लेख गर्दै उनले सरकार गरिब नागरिकको उपचारप्रति संवेदनशील नभएको दाबी गरे ।
त्यस्तै, उनले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए ।
सांसद ठगुन्नाले प्रधानमन्त्री बालेन्द्र शाहका गतिविधिप्रति पनि आलोचना गर्दै राष्ट्रहितविपरीतका कार्य सच्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।