मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

चालु आवको ११ महिनामा २१ खर्ब २० अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

मंगलबार, असार ३० २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३८.२ प्रतिशतले वृद्धि हुँदै २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै रु २ खर्ब ३ अर्ब ८९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको सोही महिनामा भने रु १ खर्ब ७६ अर्ब ३२ करोड विप्रेषण प्राप्त भएको थियो।

अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा १४ अर्ब ५९ करोड अमेरिकी डलर बराबर विप्रेषण नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.८ प्रतिशत ले बढेको थियो। रेमिट्यान्समा भएको यो वृद्धि विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्रको सन्तुलन र समग्र अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।