नवलपरासी । लगातारको वर्षापछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो, डुबान र सडक अवरोधका घटना बढेका छन्। जिल्लाका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण नौ घर प्रभावित भएका छन् भने ३५ जना विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको हो। प्रभावितमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार घटनामा मानवीय वा चौपायाको क्षति नभएको भए पनि थप क्षतिको विवरण सङ्कलन भइरहेको छ।
गैँडाकोट नगरपालिका–१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षा र नालीको पानी पस्दा करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेका छन्। सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पसेर लत्ताकपडा भिजेका छन्, तर त्यहाँ कुनै मानवीय क्षति वा विस्थापन भएको छैन। अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी टोली परिचालन गरी आवश्यक समन्वय गरिएको प्रहरीले जनाएको छ।
यस्तै, गैँडाकोट नगरपालिका–३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार राति पहिरो खस्नुका साथै सिसौ र सालका रुख ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ।
यसअघि हुप्सेकोट गाउँपालिका–४ र ५ को सिमानास्थित रातेखोलामा पानीको बहाव बढेपछि रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको थियो। त्यस्तै, हुप्सेकोट गाउँपालिका–६ को बाडाखोलामा पहिरो खस्दा झ्यालवासदेखि वडा कार्यालय जाने भित्री सडक पनि अवरुद्ध भएको छ। दुवै सडक खुलाउन प्रहरी र स्थानीय तहको समन्वयमा काम भइरहेको छ।
प्रहरीले निरन्तर वर्षाका कारण जिल्लाका नदी किनार, पहाडी सडक र जोखिमयुक्त बस्तीमा सतर्कता बढाइएको जनाएको छ। सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि आग्रह गरिएको छ।
तस्वीर : डीसी नेपालबाट