मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

कुशलको शतक र हेमन्तको घातक बलिङमा जर्सीमाथि नेपालको ८१ रनको शानदार जित

मंगलबार, असार ३० २०८३

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको चार विकेटको उत्कृष्ट प्रदर्शनमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा ८१ रनको प्रभावशाली जित दर्ता गरेको छ।

दुई खेलको एकदिवसीय शृंखलाअन्तर्गत जर्सी भ्रमणमा रहेको नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमै १६९ रनमा अलआउट भयो।

जर्सीका लागि चार्ली ब्रेननले सर्वाधिक ८२ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोली हारबाट जोगिन सकेन।

नेपालका बलरमध्ये हेमन्त धामी सर्वाधिक सफल रहँदै ४ विकेट लिए। आरिफ शेखले ३, करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार ब्याटिङ गर्दै १०५ रनको शतकीय इनिङ्स खेले। उनको इनिङ्स नेपालको प्रतिस्पर्धात्मक स्कोरको आधार बन्यो।

भीम सार्कीले ३९ रन बनाएर राम्रो साथ दिए भने तल्लो क्रममा हेमन्त धामीले अविजित १९ रन जोड्दै टोलीलाई २५० रनसम्म पुर्‍याए।

अन्य ब्याट्सम्यानमध्ये आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ तथा ईशान पाण्डेले १ रन बनाए।

यस जितसँगै नेपालले दुई खेलको शृंखलामा १–० को अग्रता बनाएको छ। अब दोस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ। उक्त खेल जिते नेपालले शृंखला क्लिनस्वीप गर्नेछ भने जर्सीले शृंखला बराबरी गर्ने प्रयास गर्नेछ।