आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबायो, पूजाअर्चना र दर्शन बन्द

मंगलबार, असार ३० २०८३

पर्वत । लगातार दुई दिनदेखिको वर्षापछि कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। डुबानसँगै शिलामा हुने नियमित पूजाअर्चना तथा दर्शनसमेत रोकिएको छ।

शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार कालीगण्डकी नदीको बहाव बढेपछि शालिग्राम शिला, त्यहाँ पुग्ने बाटो, सत्तल तथा परिक्रमा स्थल सबै डुबानमा परेका छन्। यसका कारण शिला क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित भएका छन् भने दर्शनका लागि आउने भक्तजन पनि फर्किन बाध्य भएका छन्।

स्थानीय तिलक पराजुलीका अनुसार सेतीखोलाको उच्च बहाव र कालीगण्डकी नदीमा आएको बाढीले परिक्रमा स्थलसमेत पूर्ण रूपमा क्षति पुगेको छ। यद्यपि हालसम्म आसपासका बस्तीमा तत्काल कुनै जोखिम नदेखिएको उहाँले बताउनुभयो।

बाढीले शालिग्राम क्षेत्रका सत्तललगायतका संरचना पनि डुबाएको छ। शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि सुरक्षा कारण देखाउँदै शिलामा प्रवेश र दर्शनमा रोक लगाइएको छ।

स्थानीयका अनुसार कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढीका बेला पर्वत, स्याङ्जा र गुल्मीको सीमामा रहेको सेतीवेणी बजार डुबानको उच्च जोखिममा पर्ने गरेको छ। कालीगण्डकी र सेतीखोलाको बहाव बढ्नासाथ बजार क्षेत्रका करिब दुई सय व्यापारी तथा स्थानीयवासी त्रसित हुने गरेका छन्।

दुई वर्षअघि साउनमा आएको बाढी बजारसम्म पुग्दा एक घर भत्किएको र आधा दर्जन घर विस्थापित भएको थियो। गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव व्यवस्थापन नगरेसम्म जोखिम कायम रहने बताउँदै गुल्मीतर्फबाट बहाव मोडेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले शालिग्राम शिला रहेको क्षेत्रको संरक्षणका लागि स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्वतले लगातारको वर्षासँगै सेतीवेणी क्षेत्रसहित नदी तथा खोलामा बाढी र पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।