आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने

मंगलबार, असार ३० २०८३

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर मनसुनको प्रभाव कायम छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेस प्रदेशका अधिकांश स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान, कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थान, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागका पछिल्ला मौसम सूचना नियमित रूपमा अवलोकन गर्न अनुरोध गरिएको छ।