काठमाडौं । काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।
अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको पाइएको हो ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले सम्बन्धित कार्यालयमा पुगेर गाडीधनीको खोजी तथा प्रारम्भिक अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले शंकास्पद गाडीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिने बताएका छन् । उनले कसले र किन यस्तो गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल गाडी हटाई सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
महासंघले घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।
साथै, अवरोध हटाउने कार्यमा सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी महासंघले दिएको छ।
