मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

सोमबार, असार २९ २०८३

काठमाडौं महानगरपालिका–३२ सनराइज चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने बारा कलैया उपमहानगरपालिका–५ घर भएका २१ वर्षीय तवरेज अंसारी समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले तवरेजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरीको दुहवी नगरपालिका–४ मालहट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका–१ नोचा टोल बस्ने २५ वर्षीय जमालउद्धिन मियाँ र २५ वर्षीय इमदाद मियाँ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–३२ मजुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट, टापेन्टाडोल १ सय ट्याब्लेट, नाइट्राभेट ३० ट्याब्लेट, फेनारगन ६ सय एम्पुल, डाइजेपाम ६ सय एम्पुल र बुप्रेनोर्फिन ६ सय ४८ एम्पुल सहित भारत उत्तर प्रदेश गोरखपुर बिलारी सरदारनगर बस्ने २७ वर्षीय बिकास कुमार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको युपि ५३ इवाइ ७७०४ नम्बरको कारमा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कार चालक बिकास समेत उनीहरूलाई पक्राउ गरेको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–५ चालिसे बस्ने भिम बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले भिम बहादुरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

बाराको बारागढी गाउँपालिका–३ श्रीपुराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय संजय मलिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–६ पुर्व बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित गौरादह नगरपालिका–१ बस्ने २६ वर्षीय विशाल राई समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५२ मिलिग्राम सहित डुडुवा गाउँपालिका–४ लालापुरवा बस्ने ५५ वर्षीय झलारी वर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट फुल्टेक्रबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाईन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न पाँच जना पक्राउ
अनलाईन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्ने महोत्तरी रामगोपालपुर नगरपालिका–९ घर भएका २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशी नागरिकहरू २५ वर्षीय मोहम्द जुबेर अहमद र २६ वर्षीय मोहम्मद नुरु आलम, २४ वर्षीय मोहम्मद नसिम मिया र २७ वर्षीय मोहम्मल रानी कमल रहेका छन् । साईबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी “कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने“ भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचारमार्फत सेवाग्राहीलाई शङ्कास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुल्न आएको छ । साथै अनुसन्धानको क्रममा निजहरूले अनलाईन ठगी र अवैधानिक विनान्स मार्फत क्रिप्टो र युएसडिटी कारोबार समेत गर्ने गरेको खुल्न आएको छ ।

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल बरामद
मलंगवा नगरपालिका–८ स्थित सैलुन पसलबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली २ राउण्ड आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सैलुन पसल तलासी गर्दा उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद
खाँदवारी नगरपालिका–५ चालिसेस्थित जंगलको झाँडीबाट भरूवा बन्दुक १ थान आइतबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।