काठमाडौं । नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक चेतनाका आधारस्तम्भ आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
हरेक वर्ष असार २९ गते मनाइने भानुजयन्तीका अवसरमा प्रभातफेरी, रथारोहण, माल्यार्पण, कवि गोष्ठी, सम्मान तथा साहित्यिक–सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। भानु प्रतिष्ठान, काठमाडौंले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभातफेरी तथा आदिकविप्रति श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, साहित्यकार, संस्कृतिकर्मी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने जनाइएको छ।
यस्तै, नेपाली शिक्षा परिषद्को आयोजना तथा भानु माध्यमिक विद्यालयको सहआयोजनामा रानीपोखरीस्थित भानुभक्तको सालिकमा माल्यार्पण कार्यक्रम हुँदैछ। परिषद्का अनुसार दिउँसो लेखनाथ साहित्य सदनमा आयोजित विशेष समारोहमा साहित्यकार भुवनहरि सिग्देललाई सम्मान गरिनेछ।
भानुजयन्तीका अवसरमा भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले देशभर कविता वाचन, साहित्यिक अन्तरक्रिया, सांस्कृतिक प्रस्तुति र विचार गोष्ठी आयोजना गरेका छन्। भारतका दार्जिलिङ, सिक्किम, असम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न स्थानमा पनि भानुजयन्ती विशेष उत्साहका साथ मनाइँदै छ।
विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरेर नेपाली भाषा र साहित्यमा ऐतिहासिक योगदान पुर्याएका थिए। उहाँद्वारा अनूदित रामायण नेपाली समाजमा धार्मिक ग्रन्थ मात्र नभई भाषिक एकताको प्रतीकका रूपमा समेत स्थापित छ।
जनविश्वासअनुसार घाँसीको जीवनदर्शनबाट प्रेरित भानुभक्तले नेपाली भाषालाई सर्वसाधारणसम्म पुर्याउने उद्देश्यले सरल भाषामा साहित्य सिर्जना गरेका थिए। उहाँका प्रमुख कृतिमा रामायण, प्रश्नोत्तर, भक्तमाला र बधुशिक्षा रहेका छन्। उहाँका बिखरिएका कृतिलाई संकलन गरी प्रकाशन गर्ने श्रेय साहित्यकार मोतीराम भट्टलाई जान्छ। मोतीराम भट्टले नै पहिलोपटक भानुभक्तलाई ‘आदिकवि’ को उपाधि दिएका थिए।