इलाम । लगातार दुई दिनदेखि परेको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भासिँदा सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।
इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा सडक थप भासिएपछि यातायात बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। उनका अनुसार विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् भने आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको थियो। तर जोखिम बढेपछि सोमबारदेखि सबै सवारीसाधनका लागि सडक अनिश्चितकालसम्म बन्द गरिएको हो।
सडक अवरुद्ध भएसँगै इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। दुवैतर्फबाट आएका मालवाहक तथा यात्रुवाहक सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन्।
यस्तै, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएको छ। त्यसैगरी, मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको पुवा खोलास्थित डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सम्पर्क झन् प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार भइसके पनि भारत सरकारबाट निःशुल्क प्राप्त हुने बेलीब्रिज सामग्री हालसम्म नआएकाले स्थायी समाधान हुन सकेको छैन।
सडक पूर्ण रूपमा बन्द भएपछि अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्। प्रशासनले वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।