मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

विश्वकप २०२६ : सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना–इङ्ग्ल्यान्ड र स्पेन–फ्रान्स भिड्ने

आइतबार, असार २८ २०८३

काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तिम चरणमा प्रवेश गरेको छ। रोमाञ्चक क्वार्टरफाइनल खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ।

साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्सले अन्तिम चारमा स्थान बनाएका छन्। अब यी चार टोली उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे।

यता, इङ्ग्ल्यान्डले नर्वेलाई २–१ ले हराउँदै आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। इङ्ग्ल्यान्डका लागि जुड बेलिङघमले दुवै गोल गरेका थिए।

यसअघि स्पेनले बेल्जियमलाई तथा फ्रान्सले मोरक्कोलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।

अब पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेललाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक मानिएको छ।

दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्ड आमनेसामने हुनेछन्। लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना र लामो समयपछि विश्व च्याम्पियन बन्ने सपना बोकेको इङ्ग्ल्यान्डबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल समर्थकको ध्यान खिचेको छ।

विश्वकप २०२६ को फाइनल जुलाई १९ मा न्युयोर्क–न्युजर्सी स्टेडियममा हुनेछ। सेमिफाइनलका यी दुई खेलपछि विश्व फुटबलको नयाँ च्याम्पियनको टुंगो लाग्ने फाइनल भिडन्त तय हुनेछ।