आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मनसुन सक्रिय, केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना

आइतबार, असार २८ २०८३

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि तथा पूर्वमा नेपालको तराई भूभाग नजिक रहेकाले यसको प्रभाव देशभर देखिएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।