मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

आइतबार, असार २८ २०८३

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जे. लोपेजको पासमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित सुनिश्चित गर्‍यो।

अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै कप्तान लियोनेल मेसीको उत्कृष्ट पासलाई एलेक्सिस म्याक एलिस्टरले गोलमा परिणत गर्दै अग्रता लिएको थियो। पहिलो हाफ १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको ६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको पासमा डान न्डोएले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि स्विट्जरल्यान्डले अर्जेन्टिनामाथि निरन्तर दबाब सिर्जना गरेको थियो।

तर खेलको ७२औँ मिनेटमा स्विट्जरल्यान्डलाई ठूलो धक्का लाग्यो। टोलीका प्रमुख फरवार्ड ब्रिल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे। त्यसपछि स्विट्जरल्यान्ड बाँकी खेल १० खेलाडीमा सीमित भयो।

एक खेलाडीको संख्यात्मक लाभ पाए पनि अर्जेन्टिनाले निर्धारित समयमा विजयी गोल निकाल्न सकेन। अन्ततः अतिरिक्त समयमा अल्भारेज र मार्टिनेजले गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए।

यससँगै अर्जेन्टिनाले उपाधि यात्रामा अर्को महत्वपूर्ण खुड्किलो पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने स्विट्जरल्यान्डको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।