जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार अविरल वर्षापछि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउन आज बिहान ३ बजेदेखि नै पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए।
उनका अनुसार पहिरो पन्छाउने कार्यका लागि सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयसमेत भइरहेको छ।
सडक डिभिजन कार्यालयले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन, सम्भव भएसम्म रातिको समयमा यात्रा नगर्न तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।