आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा

शनिबार, असार २७ २०८३

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार बिहीबार राति नै शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको हो। पोस्टमार्टम प्रक्रिया पूरा भएपछि शव परिवारको जिम्मा लगाइने तयारी गरिएको छ।

मुगुको सोरु गाउँपालिका–१ निवासी नेपाली काठमाडौंमा राइड–सेयरिङ सेवा सञ्चालन गर्दै परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार राहदानी विभाग अगाडि काठमाडौं महानगर प्रहरीद्वारा सवारीसाधनमा ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न विवाद र तनावपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

घटनापछि गम्भीर घाइते भएका नेपालीलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।