काठमाडौं । नेकपा (एमाले) ले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको बताइन्।
‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले संसद्मा भनिन्।
सांसद सुब्बाले ट्राफिक तथा प्रशासनिक कारबाहीका नाममा लिइने जरिवाना उचित छ वा छैन भन्ने विषयमा पनि सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। उनले राज्यलाई गणेश नेपालीको घटनाबाट पाठ सिक्न आग्रह गर्दै जरिवाना प्रणालीको मानवीय पक्षसमेत पुनरावलोकन गर्नुपर्ने धारणा राखिन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिन्।