काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड अब अवरुद्ध भए अधिकतम आधा घण्टाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाट नियमित सवारी सञ्चालन सुरु हुने जनाएको छ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको यस राजमार्गमा विगतमा वर्षा हुनेबित्तिकै सडक अवरुद्ध हुने समस्या थियो। तर, यस वर्ष वर्षायामलाई लक्षित गर्दै आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएकाले सडक अवरुद्ध भए पनि आधा घण्टाभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म अधिकांश स्थानमा पुरानै ट्र्याक पुनर्निर्माण गरी सवारी सञ्चालन गरिएको छ। यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउँदा सडक पटक–पटक अवरुद्ध हुने गरेको थियो।
कार्यालयले चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ। ती क्षेत्रमा ग्राभेल बिछ्याउने तथा ठूला ढुङ्गा राखेर सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ।
विसं २०८१ असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि सवारी सञ्चालनका लागि बनाइएका अस्थायी डाइभर्सनहरू पनि पटक–पटक बाढीले बगाएको थियो।
हाल क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक पुनर्निर्माणको जिम्मा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लिएको छ। उक्त खण्डमा माटो भर्ने र बोल्डर राख्ने काम तीव्र रूपमा भइरहेको छ। जाइकाले यस परियोजनाका लागि करिब दुई अर्ब ६३ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको छ।
डिभिजन सडक कार्यालयका अनुसार पुनर्निर्माणपछि सडक दुई लेनको हुनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै नयाँ पुल निर्माण गरिनेछ भने पाँचवटा पुललाई पनि दुई लेनमा विस्तार गर्ने योजना रहेको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्ड अर्थात् बिपी राजमार्ग नेपालको पूर्वी र मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालका रूपमा परिचित छ।