काठमाडौं । कप्तान किलियन एमबाप्पेको प्रेरणादायी प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकालेको हो।
एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्ने अवसर गुमाएका थिए। तर दोस्रो हाफमा उनले उत्कृष्ट पुनरागमन गर्दै खेलको ६०औँ मिनेटमा फ्रान्सका लागि पहिलो गोल गरे। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता २–० पुर्याए।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि फ्रान्सले जित सुनिश्चित गर्दै अन्तिम चारमा स्थान बनायो।
यससँगै फ्रान्स लगातार तेस्रो संस्करणमा विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ संस्करणमा उपविजेतामा सीमित बनेको थियो।
अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।