आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संविधान संशोधन बहसपत्र कार्यदलबाट एमाले बाहिरियो

बिहिबार, असार २५ २०८३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ।

एमाले महासचिव शंकर पोखरेलले २५ असार २०८३ मा कार्यदलका संयोजकलाई पत्र लेख्दै पार्टीको तर्फबाट प्रतिनिधित्व गरिरहेका डा. भीम अधिकारीलाई फिर्ता बोलाइएको जानकारी दिएका हुन्।

पत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उक्त कार्यदलमा प्रारम्भिक दिनमा एमालेको सहभागिता रहेको उल्लेख गर्दै सुरुदेखि नै कार्यदलको कामकारबाही सन्देहास्पद प्रकृतिको देखिएको दाबी गरिएको छ।

एमालेले संविधान संशोधनका विषयहरू स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा संशोधनका लागि बहसमा ल्याइएका केही विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको भन्दै सरकारसँग आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गरेको जनाएको छ।

पत्रअनुसार वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने तथा कार्यान्वयनका क्रममा देखिएका कमजोरी र कमीकमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन हुनुपर्ने पक्षमा एमाले रहेको उल्लेख गरिएको छ। तर, त्यसविपरीत उद्देश्यका साथ कार्यदल अघि बढेको निष्कर्ष निकाल्दै पार्टीले केही समयदेखि कार्यदलमा सहभागिता जनाउन छाडेको जनाएको छ।

एमालेले आफ्नो प्रस्तावबारे सरकारबाट आजसम्म पनि कुनै स्पष्ट जवाफ नआएको भन्दै अब औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाउने निर्णय गरिएको जनाएको छ।