आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रतिनिधिसभा बैठक आज बस्दै, महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस हुने

बिहिबार, असार २५ २०८३

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्दै छ। बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नुहुनेछ।

त्यसैगरी, मन्त्री गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ पनि सदनमा पेस गर्ने कार्यक्रम रहेको छ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि कानूनमन्त्री गौतमले पेश गर्नुहुनेछ। प्रतिनिधिसभाबाट अनुमति प्राप्त भएपछि उक्त विधेयक औपचारिक रूपमा सदनमा प्रस्तुत गरिने कार्यसूची छ।

यस्तै, नेपाल विशेष ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा सरकारका वार्षिक प्रतिवेदनबारे सदनलाई जानकारी गराउनुका साथै विभिन्न नयाँ विधेयकलाई संसदीय प्रक्रियामा अघि बढाउने तयारी गरिएको छ।