आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना, भोलिदेखि पश्चिममा भारी वर्षा

बिहिबार, असार २५ २०८३

काठमाडौं । आज पनि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान मोडेलका आधारमा भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने संकेत गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्। यद्यपि वर्षाको मात्रा र प्रभावित क्षेत्र भने फरक–फरक हुन सक्ने भएकाले पूर्वानुमानलाई आधार मानेर सतर्क रहनुपर्ने उनले बताए।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केही स्थानमा मोडेलले देखाएकोभन्दा बढी र केही स्थानमा कम वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

मौसमविद्हरूका अनुसार यस अवधिमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम बढ्न सक्ने तथा नदी–खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक छ।

यसैबीच, पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान मोडेलले वर्षाको सम्भावना देखाए पनि तराईका अधिकांश स्थानमा उल्लेख्य वर्षा हुन नसकेको जनाइएको छ।