काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीको वातावरण सुधार गर्ने र निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित आज उद्योगी तथा व्यवसायीहरूसँग उच्चस्तरीय संवाद गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीमैत्री वातावरण निर्माण तथा सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
बैठकमा निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी)का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वसँग औपचारिक रूपमा पहिलोपटक संवाद गर्न लागेका हुन्। बैठकबाट अर्थतन्त्रलाई गति दिने र सरकार तथा निजी क्षेत्रबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ।